प्रत्येक वर्ष माघ १६ गते देश र जनताका लागि आफ्नो प्राणको आहुती दिएका वीर सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ। आज पनि देशभर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरी सहिद दिवस मनाइंदै छ।
विक्रम सम्वत २००७ सालमा राणा शासनविरुद्ध ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरिंदैछ ।
मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने शहीद बास्तवमै महान हुन् यो विषय पूर्वबाट घाम झुल्कन्छ भनेजस्तै सत्य हो । यस बिषयमा कुनै नेता वा मन्त्री प्रधानमन्त्रीले प्रष्ट पारिरहनु जरुरी छैन। शहीदको महिमा नेताभन्दा जनताले राम्रोसँग बुझिसकेका छन् । यसको अर्थ दलका प्रमुख नेताहरूले शहीदका गाथा गाउनहुन्न भन्ने हैन ।
तिनका गाथा अजम्बरी स्वरमा गाउनुपर्छ तर, भाषणमा हैन व्यवहारमा । गाथा गाएर काम उल्टो गर्ने होइन, नेताहरूले शहीदका सपना पूरा गर्नेतिर सरकार लाग्यो भने मात्रै शहीदका गाथा गाउनुको अर्थ रहन्छ । अब पनि शहीदका तस्विरमा माला लगाएर वा तिनका गुणगानमा सीमित भएर व्यवहारमा नउतार्ने हो भने शहीद दिवस मनाउनुको औचित्य छैन ।
सही अर्थमा शहीद दिवस मनाउने हो भने ००७ सालदेखि जनआन्दोलन–२ सम्म जो नागरिकले जीवनको आहुति दिए, आखिर केका लागि आफ्नो जीवन उत्सर्ग गरे भनेर सोच्न ढिला भइसकेको छ । जनआन्दोलनको अगाडि मोर्चामा उभिएर जो मलुकका लागि शहीद भए तिनले पक्कै मुलुकको यो गन्जागोल अवस्थाको कल्पना गरेका थिएनन् ।
उनिहरूको चाहना थियो नेपाल एउटा समृद्ध र समुन्नत राष्ट्र होस् र अमनचयन कायम होस् । तर, मुलुकका शासकले शहीदका ती सपनालाई व्यवहारमा उतार्न सकेका छैनन् । सत्ता आरोहणसँगै शहीदको बलिदान भुल्ने उनीहरूको परम्परा नै भइसकेको छ ।
आन्दोलनमा लागेर जो मरेर गए ती त गईसके। यो विज्ञानले तिनको भौतिक संरचनालाई दुरुस्तै पार्न सक्दैन । तर, शहीद अमर हुनु भनेको उनीहरूको बिचार र भावनाको कदर हुनु हो भन्ने सबैले बुझ्नु जरुरी छ । तिनले देखाएको बाटोमा अघि बढ्नु शहीदलाई श्रद्धा गर्छु भन्नेहरूको कर्तव्य हो । अहिले बाँचेकाहरूले वास्तविक शहीद र ग्याङपाइटमा मारिएको व्यक्तिलाई एउटै तहमा राखेर हेर्दा पक्कै शहीदको आत्मा रोएको हुनुपर्छ । शहीदको सपना साकार पार्छौ भनेर नारा लगाउनुको सट्टामा अझै तोकिएको समयमा संविधान निर्माण गर्न सकिन्छ । ढिलै किन नहोस्, जनताको चाहनाअनुसार शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन सकियो भने शहीदका आत्माले शान्ति पाउनेछ ।
नेपालमा लोकतन्त्रपछि सहिद शब्दको अपमान भएको छ । खासगरी सशस्त्र द्वन्द्वमा मर्ने, मारिने सबै सहिद भएपछि सहिदको अवमूल्यन भएको हो । जो द्वन्द्वमा मरे ती तत्कालीन माओवादी विचारका लागि मरेकाहरुप्रति पनि माओवादीले उचित सम्मान गरेन । देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने हामीले पढेका, मान्दै आएका वास्तविक सहिदहरु भनेका ४ जना नै हुन् – धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाललाई जहानीया राणाहरुले कोहीलाई गोली ठोकेर, कोहीलाई झुण्ड्याएर मारेका हुनाले २००७ सालपछि हामीले माघ १६ लाई सहिद दिवस मान्दछौं ।
देशले अझै गति लिन सकेको छैन। त्यसैले सहिद दिवसका दिनमा हामी भन्छौं कि जनताको लागि भनेर काम गर्ने प्रण गर। सहिद बन्ने अठोटका साथ आन्दोलन गर । नत्र एमाले, काँग्रेसको अस्तित्व नै धरापमा पार्ने कार्यमा एमाओवादी जाँदैछ । सहिद को ? सबैजस्तो स्रष्टा वा लेखकहरूले कुनै महान कामका लागि जीवन उत्सर्ग गर्ने व्यक्ति नै सहिद हुन्छ भन्ने मान्यता दिँदै आएको पाइन्छ जसलाई नेपाली शब्दकोशहरूले थोरै फराकिलो पनि पारिदिएका छन् ।
तिनीहरू भन्छन-आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति नै सहिद हुन्छ। यताबाट सहिदको शाब्दिक अर्थ पहिलोमा देश, दोस्रोमा संस्कृति, तेस्रोमा अस्तित्व, चौथोमा स्वतन्त्रता, पाँचौमा बलिदान र अन्तमा लोकहितका लागि बलिदान हुने व्यक्ति भन्ने हुन आउँछ । साथै, सहिद शब्दको अर्थ गर्ने स्रष्टाहरू के भन्छन् भने यसको सुरू शब्दमै 'आफ्नो' भन्ने पदावलीबाट 'कसैको लागि होइन वा कसैको कर, बल, छल अथवा अरोट-परोट होइन आफ्नै ज्ञान, विवेकका आधारमा आफ्नो देशको निम्ति, आफ्नो संस्कृतिको निम्ति, आफ्नो स्वतन्त्रताको निम्ति, सङ्घर्षमा उत्रने र सङ्घर्षको क्रममा ज्यान गुमाउने वा आफ्नो हक अधिकारको निम्ति निर्भिक भई बलिदान हुनेू व्यक्ति सहिद हुन्छ ।
यस्तो आशय व्यक्त गर्ने स्रष्टाहरू यतिमै मात्र पनि चित्त बुझाउँदैनन् र भन्छन्- लोकहित भनेर मात्र पनि पुग्दैन किनभने आखिर लोकहितमा लाग्ने त्यस्तो अमर व्यक्ति को हो त रु अतः सहिद शब्दको सत्यापनका सन्दर्भमा प्रथमतः 'लोकहित' लगायतका शब्दकोशद्वारा यस सन्दर्भमा प्रस्तुत सबै पदावलीहरूको समेत अर्थ गर्नुपर्ने हुन्छ ।
जस-अनुसार लोकहित शब्दको अर्थ हुन आउँछ- सार्वजनिक हित, जनकल्याण र लोकको भलाई भन्ने उल्लेख भएको हुँदा जसले सार्वजनिक हितलाई नै आफ्नो हित ठान्ने गर्छ, जसले जनकल्याणलाई नै आफ्नो कल्याण ठान्ने गर्छ र जसले लोकको भलाईलाई नै आफ्नो भलाई ठानी तिनको हितका लागि संघर्षमा उत्रन्छ र जसले त्यसरी हितमा उत्रनेविरूद्ध नानाथरी प्रपञ्च रची मार्नेसम्मको तारतम्य मिलाउने क्रममा त्यस्तो व्यक्तिको ज्यानसमेत लिन्छ भने त्यसरी ज्यान गुमाउने व्यक्ति नै प्रकारान्तरले सहिदको रूपमा समाजमा सम्मानित हनपुग्छ ।
यही स्थिति त्यस्तो बलिदानी व्यक्तिका लागि आश्रय र कुनै पनि तरिकाले संरक्षणसमेतका लागि साथ दिने व्यक्तिले पनि ज्यानै गुमाउने स्थिति बन्छ भने त्यसरी अमरत्व प्राप्त गर्ने व्यक्तिपनि 'सहिद' नै मानिनुपर्न हुन्छ । अर्का, सहिदको सन्दर्भमा केही लेखकहरूले वर्ग, समुदाय वा राष्ट्रको हित र मुक्तिको निम्ति निश्चित उद्देश्य बोकी अग्रसर हुने क्रममा बलिदान भएको व्यक्ति नै सहिद हुनसक्छ भन्ने धारणालाई पनि भ्रान्त मान्दै वस्तुतः आन्दोलनका क्रममा मारिने जो कोही पनि सहिद हुन्छ भन्ने धारणा नै गलत छ भन्ने निष्कर्षमा उभिएका देखिन्छन् ।
यसक्रममा तिनीहरू कस्तो दृष्टान्त राख्छन् भने हाम्रो देशमा त पार्टी काममा हिँडेको व्यक्ति कुनै अर्कै कारणबाट मृत्युवरण गरेको हकमा सम्म 'सहिद' मान्ने परम्परा देखियो । यसरी नै आफ्नै सुरले बरण्डामा बसेको वा बजार घुम्नेक्रममा आन्दोलनकारीलाई लक्षित गरी चलाइएको गोली लागी निधन भएको व्यक्तिलाई 'सहिद' को पगरी गुथाइयो । जुन क्रम हिजोआज गाडी दुर्घटना वा अरू कुनै पनि कारणले मरेको हकमा समेत प्रयुक्त हुने स्थानमा आइसकेको अवस्था छ ।
अतः राज्यले शिघ्रातिशिघ्र सहिदसम्बन्धी मान्यताको राज्यस्तरीय परिभाषा राजपत्रमार्फत ऐनकै रूपमा जारी गरी उक्त मापदण्डभित्र पर्ने उच्च योगदान भएका महान व्यक्तिहरूलाई मात्र सहिदको श्रेणीमा राखी तिनको मान सम्मान पनि सोही अनुसारको विशिष्ट विशिष्ट ढङ्गबाट गरिने परिपाटी बनाउनु मनासिव हुनेछ ।
कदाचित त देश र जनताका लागि कनै न कुनै ढङ्गले उल्लेख्य योगदान गर्दै अमरत्व प्राप्त गर्ने केही महान व्यक्तिहरू सहिदको पंक्तिबाट छुट्ने अवस्था आउने स्थिति बने त्यस्ता महान व्यक्तिहरूलाई मधेश आन्दोलनका सहिद, निश्चित जाति, भाषी र संस्कृतिसम्बन्धी सहिद, धार्मिक सहिद, जनयुद्धका सहिद, निश्चित पार्टी र विचारका सहिद र महिला आन्दोलनका सहिद आदि नामबाट पनि राज्यले त्यस्ता महान व्यक्तिहरूको सम्मानोचित व्यवहार गर्नसक्छ ।
जसको न्यानोबाट तिनका स्वजन, परिवारजन र अन्य शुभचिन्तकहरूसमेतले गौरव र अन्यप्रकारको सहानुभूति पनि पाउन सक्छन् । राज्यले राजकीय तहबाट चाहिँ केवल तिनै महान हस्तीहरूलाई मात्र सहिदको राजकीय सम्मान र दर्जा दिनु उचित हुनेछ जो प्रजातन्त्र, देशभक्ति, राष्ट्रियता र विश्वमानवताको रक्षामा लागिपर्दा राज्यले पक्राउ वा प्रत्यक्ष गोली प्रहारद्वारा मर्ने वा घाइते हालतमा पक्राउ परेकोमा आफ्नो गल्तीका लागि क्षमायाचनासमेतको अवसर दिँदा पनि आफूले लिएको मूल्य मान्यताविपरीत आत्मरक्षाका लागि झुक्नुभन्दा बरू मृत्युवरण गर्न राजी हुने व्यक्ति नै वस्तुतः सहिदको सम्मान पाउनयोग्य मानिनु उपयुक्त हुनेछ ।
अरू स्वतन्त्रता सेनानी, प्रजातन्त्र सेनानी र जनयुद्धका योद्धाजस्ता सहिद सरहको सम्मानबाट सम्बोधित हुनलायक भएतापनि वस्तुतःतिनीहरू त आन्दोलन, आदर्श र पार्टी समूहका मात्र सहिद हुन राष्ट्रका सहिद होइनन् ।
त्यसैले सहिद गंगालाल र शुक्रराज शास्त्रीजस्ता मृत्यु हाँक दिने साझा ध्येयमा समर्पित अमरत्व पाउने महान हस्तीमात्र वास्तविक सहिद मानिई राज्यद्वारा उक्त सम्मानको हकदार हुनेछन् बाँकी शहादत पाउने महान आत्माहरू सहिद बराबरकै सम्मानयोग्य भए पनि तिनीहरू राजकीय सम्मान पाउने पंक्तिमा भने पर्न सक्ने छैनन त्यसैले राज्यले पनि यसै मुताबिकको सहिद नीति लिनुपर्छ